काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यअनुसार बाढीका कारण ठूलो मानवीय क्षति भएको, धेरै मानिस बेपत्ता भएका तथा व्यापक भौतिक क्षति पुगेको घटनाप्रति उनले गहिरो दुःख व्यक्त गरेका हुन्।
गुटेरेसले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढीबाट प्रभावित सबै समुदायप्रति ऐक्यबद्धतासमेत व्यक्त गरेका छन्।
वक्तव्यमा नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यमा सहयोग गरिरहेको उल्लेख छ।
बाढी प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको पनि गुटेरेसले बताएका छन्।
जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै उनले आवश्यक परे थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको दोहोर्याएका छन्।