शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनाको टोली परिचालन

बुधबार, भाद्र १० २०८३

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ।

आज बिहान आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत तटीय क्षेत्रमा क्षति पुर्‍याएको जानकारी प्राप्त भएपछि सेनाले तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि टोली परिचालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका दुई हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन्। यस्तै, त्रिशूली जिल्ला अस्पतालमा आपत्कालीन मेडिकल टोलीसमेत परिचालन गरिएको छ।

धुन्चे र त्रिशूली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा पठाइएको सेनाले जनाएको छ। गजुरीस्थित बाहिनी नं. ६ बाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

सेनाले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।