काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा सम्भावित क्षति न्यूनीकरणका लागि आपत्कालीन बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाएका हुन्।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका काम प्रभावकारी बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित जोखिममा रहेका नागरिकको उद्धारलाई प्राथमिकतामा राख्दै सुरक्षा तथा विपद् व्यवस्थापनका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।