शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ओखलढुङ्गामा विद्युत् ‘सर्ट’ भएर आगलागी, दुई घर जलेर नष्ट

बुधबार, भाद्र १० २०८३

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् चुहावट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ स्थानीय कोटमाया कार्कीको ढुङ्गा–माटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार ‘सर्ट’ भएर आगलागी भएको थियो। आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। यसबाट करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घर, अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना तथा ५० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।