काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ८० रुपैयाँ, भारतीय १०० रुपैयाँ, लोकल सानो ४५ रुपैयाँ र टनेल गोलभेँडा ६५ रुपैयाँमा कारोबार भइरहेको छ। रातो आलु प्रतिकिलो ५१ देखि ५३ रुपैयाँसम्म तथा भारतीय आलु ४० रुपैयाँ कायम भएको छ भने भारतीय सुकेको प्याज प्रतिकिलो ९२ रुपैयाँ तोकिएको छ।
तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १२० रुपैयाँ, स्थानीय बन्दा ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ निर्धारण गरिएको छ।
हरियो तरकारीमध्ये बोडी ९० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, भटमासकोसा १३० रुपैयाँ, करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ र भिन्डी ४० रुपैयाँ प्रतिकिलो रहेको छ।
सागसब्जीतर्फ पालुङ्गोको मूल्य प्रतिकिलो २५० रुपैयाँ पुगेको छ भने रायोसाग १२० रुपैयाँ र तोरीको साग १०० रुपैयाँ कायम छ। च्याउमध्ये कन्य च्याउ ३०० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरिएको छ।
महँगा कृषिउपजमध्ये पार्सले प्रतिकिलो एक हजार ८०० रुपैयाँमा पुगेको छ। यस्तै, कुरिलो र जिरीको साग प्रतिकिलो ५०० रुपैयाँ, सेलरी ५०० रुपैयाँ र पुदिना ७०० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, कागती र अनार प्रतिकिलो ३०० रुपैयाँ तथा किबी ४०० रुपैयाँ कायम भएको छ। नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
मसलाजन्य वस्तुतर्फ अदुवा प्रतिकिलो ३०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र अकबरे खुर्सानी ३०० रुपैयाँ तोकिएको छ। हरियो धनियाँको मूल्य प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ कायम हुँदा ताजा रहु माछा ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको समितिले जनाएको छ।