शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना

बुधबार, भाद्र १० २०८३

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावले आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको मौसम बुलेटिनमा उल्लेख छ। तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

महाशाखाले भारी वर्षा हुनसक्ने क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्न पनि अनुरोध गरिएको छ।