काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाएरै सहभागी हुने भएका छन्।
उज्यालो प्रकाशमा हेर्न असहज हुने स्वास्थ्य समस्याका कारण चिकित्सकको सिफारिससहितको मेडिकल रिपोर्ट संसद् सचिवालयमा बुझाएपछि प्रधानमन्त्री शाहलाई कालो चस्मा लगाएर संसद् बैठकमा सहभागी हुन बाटो खुलेको हो।
यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को मर्यादालाई ध्यानमा राख्दै सामान्य अवस्थामा कालो चस्मा प्रयोग गर्न नपाइने निर्णय गरेको थियो। तर, चिकित्सकीय कारणले अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्था भए आधिकारिक मेडिकल रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको तर्फबाट आवश्यक मेडिकल रिपोर्ट सचिवालयमा प्राप्त भइसकेको छ। त्यसैले नियमअनुसार प्रधानमन्त्रीले संसद् बैठकमा कालो चस्मा प्रयोग गर्न पाउने भएका हुन्।
प्रधानमन्त्री शाहले गत साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। नेपाली सेनाका प्रमुख डाक्टर लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले उनको आँखाको परीक्षणपछि उज्यालो प्रकाशबाट आँखालाई जोगाउन कालो चस्मा प्रयोग गर्नुपर्ने सिफारिस गरेका थिए।