शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग

सोमबार, भाद्र ८ २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेख्दै २०७४ सालदेखि लगभग हरेक वर्ष लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक हुन नसकेको बताएका हुन् ।

उनले राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने गरे पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताए । अब झण्डै एक दशक बित्न लागिसकेको भन्दै उनले विगतको कमजोरीलाई प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताए ।

२०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्यायबाट वञ्चित भएको थापाले बताए ।

विगतका सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्न नसकेको उल्लेख गर्दै उनले विगतको कमजोरी अहिले पनि दोहोरिन नहुने बताए । यसपटक प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उनको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गर्दै थापाले अब थप ढिलाइ नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ उनले भनेकाा छन् ।