काठमाडौं । आज एकै दिन पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभाका तीन तथा राष्ट्रियसभाका दुई समितिको बैठकमा विभिन्न विधेयक, नीति तथा समसामयिक विषयमा छलफल हुने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायत सरोकारवाला निकायसँग छलफल हुने कार्यसूची छ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल हुने जनाइएको छ ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, राष्ट्रियसभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विषयविज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ ।