बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णयका लागि बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ। बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापालाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गत भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गरे ।
यद्यपि, मुख्यमन्त्री नियुक्तिका क्रममा दिइएको समर्थनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विवाद देखिएको छ। यसैबीच, नेपाली कांग्रेसले मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।