काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र हिलो जम्दा सडक अवरुद्ध भएका छन्। केही सडकखण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्गबाट आवागमन गर्न सकिने प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको तथा सोही वडाको लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा आज बिहान पहिरो खसेपछि सहिद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था यकिन नगरी जोखिमपूर्ण यात्रा नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।