शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आजको मौसमः विभिन्न स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आइतबार, भाद्र ७ २०८३

काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षासँगै हिमपात हुन सक्नेछ। पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना अद्यावधिक रूपमा हेर्न पनि सबैमा अनुरोध गरिएको छ।