शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रास्वपाको केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदनदेखि ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणसम्मका विषयमा छलफल हुने भएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका छन् ।

बैठकमा आगामी स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेर विभिन्न कार्यसूची तय गरिएको पार्टीले जनाएको छ।

मुख्य कार्यसूचीअन्तर्गत आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने तयारी छ। निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाइने विधि, प्रक्रिया र मापदण्डलाई यसै बैठकबाट अन्तिम रूप दिने तयारी गरिएको छ।

त्यस्तै, रास्वपाले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषय पनि बैठकको कार्यसूचीमा परेको छ। यस अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको योजना रहेको छ।

बैठकले पार्टीभित्र रिक्त रहेका तथा आवश्यकताअनुसार थप गर्नुपर्ने विभिन्न साङ्गठनिक पदमा मनोनयन गर्ने विषयमा पनि निर्णय गर्नेछ। केन्द्रीय समिति सदस्य तथा पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँट गर्ने कार्यसूची तय गरिएको छ।

यस्तै, स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयन गर्ने तयारी पनि रहेको छ।

स्थानीय तहमा उम्मेदवार छनोटको विधि र प्रक्रिया कार्यकर्तामाझ स्पष्ट पार्न केन्द्रीय सदस्य तथा सांसदहरूको नेतृत्वमा देशव्यापी प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने भएको छ।

त्यसैगरी, पार्टीका आधिकारिक धारणा, गतिविधि र समसामयिक विषय सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकले निर्णय गर्ने बताइएको छ।