शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

लगातार वर्षाले देशभर सडक प्रभावित, यी स्थानमा रातिको यात्रा बन्द

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । लगातार वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् भने बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका हुन्।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खस्नुका साथै सोही गाउँपालिकाको लिपिङ क्षेत्रमा सडक भासिँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बन्द भएको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खस्दा पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पनि पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अझै कायम रहेकाले प्रहरीले यात्रामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अवस्था हेरेर यात्रा गर्न तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि सम्बन्धित निकायले अनुरोध गरेको छ।