काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाले प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) कब्जा गरेको आरोप लगाएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको छानबिन हुनुपर्ने माग गरे । प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको विषयमा आफूले यसअघि उठाएको प्रश्नमा आफू अडिग रहेको उनको भनाइ छ ।
उनले समितिले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी कागजात माग गरेको स्मरण गर्दै ती कागजात प्राप्त भए–नभएकोबारे प्रश्न गरे । साथै, यसैबीच प्रहरीले करोडौँ रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै उनले आपत्तिसमेत जनाए ।
‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने ।
आफूमाथि मानमर्दनको आरोप लागे अदालत गएर कानुनी उपचार खोज्न पनि उनले चुनौती दिए ।
‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला । कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु,’ उनले भने ।
सार्वभौम संसदीय समितिको बैठकमा आएर आरोप–प्रत्यारोपमा उत्रिन नहुनेमा जोड दिँदै सुनारले सरकारको मानमर्दन गर्न नहुने बताएका छन् ।