बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याविरुद्ध स्थानीयवासीको आन्दोलन आज पनि जारी छ । पीडित परिवार तथा स्थानीयले बुधबारदेखि पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका हुन् । आन्दोलनका कारण पथलैया–वीरगन्ज सडकखण्डमा आज पनि यातायात प्रभावित भएको छ ।
सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । प्रदर्शनकारीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये एक जनाले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको हत्यापछि स्थानीयमा आक्रोश बढेको छ । दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने स्थानीयको भनाइ छ ।