शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

१८ करोड ४३ लाखको ऋणको भारी बोकेर अमेरिका फर्किए धुर्मुस, भने– ‘आशा अझै जीवित छ’

बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) अमेरिका फर्किएका छन् । चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा लागेको ऋणबाट मुक्त हुन दुई महिनासम्म राज्यका विभिन्न निकायमा पहल गरे पनि समस्या समाधान हुन नसकेको उनले बताएका छन् ।

नेपाल बसाइका क्रममा रंगशालाका लागि विनियोजित बजेटसमेत फ्रिज हुने अवस्था आएको भन्दै कट्टेलले सामाजिक सञ्जालमार्फत भावुक धारणा सार्वजनिक गरेका छन् ।

उनले छोरीसहित नेपाल फर्किएर रंगशालाको समस्या समाधान हुने र न्याय पाउने अपेक्षा राखेको भए पनि आफ्नो प्रयास सफल हुन नसकेको बताएका छन् ।

‘यो पटक त शतप्रतिशत न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ, राज्यका ढोका–ढोका पुगेँ, न्यायको आशामा राज्यलाई गुहारेँ । तर न राज्यले आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ ।’

उनका अनुसार समस्या समाधान हुनुको साटो रंगशालाका लागि विनियोजित १५ करोड रुपैयाँसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आएको छ ।

कट्टेलले आफू १८ करोड ४३ लाख रुपैयाँको ऋणको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमि छाड्न बाध्य भएको बताएका छन् ।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ ।’

आफूले १० वर्षको उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गरेको स्मरण गर्दै उनले राज्यबाट पाएको प्रोत्साहनप्रति व्यंग्यसमेत गरेका छन् ।

यद्यपि, समस्या समाधान हुने आशा भने आफूले नछाडेको उनले बताएका छन् ।

‘मन निकै भारी भएको छ, ओठ कापेका छन्, आँखा रसाएका छन्, तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले लेखेका छन्, ‘कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ ।’

आफ्नो पीडा सुनिने, संघर्षको मूल्य बुझिने र देशभक्तिको कदर हुने विश्वास व्यक्त गर्दै कट्टेलले भविष्यमा फेरि नेपाल फर्किने बताएका छन् ।

‘त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन । त्यही दिनको पर्खाइमा हामी रहनेछौँ । चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ,’ उनले लेखेका छन् ।