शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

राप्रपा बागमतीमा विवाद चर्कियो, संसदीय दलका नेता थापाविरुद्ध अविश्वास प्रस्ताव

बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ । दलका नेता उद्धव थापाले पार्टी तथा संसदीय दलको निर्णयविपरीत नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुखसमक्ष पत्र बुझाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

थापाको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै राप्रपा बागमती प्रदेश संसदीय दलका बहुमत सदस्यले उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठकसमेत नबसी व्यक्तिगत लेटरप्याड प्रयोग गरी मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरिएको छ ।

पार्टीको निर्णय तथा बृहत्तर हितविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै बहुमत सदस्यले भदौ १ गते नै थापाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारी प्रदेश प्रमुखलाई गराइएको पत्रमा उल्लेख छ ।

राप्रपाका अनुसार गत साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सहभागी नहुने निर्णय गरेको थियो। प्रदेश सरकारका विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिइएको र भदौ १ गते संसदीय दलका नेतालाई अर्को निर्देशन नआएसम्म मतदान तथा समर्थन प्रक्रियामा तटस्थ रहन निर्देशन दिइएको राप्रपाले जनाएको छ।

केन्द्रीय निर्णय र निर्देशनविपरीत समर्थनपत्र बुझाइएको भन्दै राप्रपाले उक्त पत्रमा पार्टीको सहमति नरहेको जनाएको हो। पार्टीले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने र अध्यक्षको निर्णय वा अर्को निर्देशन नआएसम्म तटस्थ रहने अडान दोहोर्‍याएको छ।

राप्रपा संसदीय दलभित्रै नेतृत्वको कदमलाई लिएर विवाद बढेपछि बागमती प्रदेशमा मुख्यमन्त्री चयनको विषयसमेत थप पेचिलो बनेको छ ।