काठमाडौँ । नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको निधन भएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
लामो समयदेखि बिरामी रहेका श्रेष्ठ विगत ६ दशकदेखि साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए।
नेपाल भाषा परिषद्ले श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषा साहित्यको विकास र विस्तारमा उनको योगदान महत्वपूर्ण मानिन्छ।
श्रेष्ठका ‘पिजा’ (१९६७), ‘जी स्वयम्भू त्वथ’ (१९८६), ‘याका फलेचा’ (१९८७), ‘इन्क्लाब्य पलासा’ (१९९१), ‘ट्विस्ट र टर्न’, ‘दुर्गालाल श्रेष्ठका कविताहरू’ (२०००), ‘चिनियाम्हा किसिचा’ (१९६५), ‘तैभाबा’ (१९६६), ‘चिनिया चम्पा’ (१९६७), ‘कुलिकासा’ (१९६७), ‘सालछ्योन्या बेला’ (१९६९), ‘माछाबखाँचा’ (१९९५), ‘सन्ताया कुसा’ (२००१), ‘टपाका’ र ‘जङ्गल कविता’ लगायत कृति प्रकाशित छन्।
साहित्य सिर्जनासँगै श्रेष्ठका गीतहरू पनि उत्तिकै चर्चित छन्। उनले रचना गरेका ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ र ‘फूलको आँखामा फूलै संसार’ लगायत गीत नेपाली समाजमा लोकप्रिय छन्।
नेपाल भाषा र नेपाली साहित्यमा लामो समय योगदान दिएका श्रेष्ठको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।