शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले भगौडा पार्टी होइन, चुनौतीसँग जुधेर अघि बढ्छ : अध्यक्ष ओली

सोमबार, भाद्र १ २०८३

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमाले अविचलित रूपमा अघि बढ्ने बताएका छन्।

झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै ओलीले देशमा भइरहेका गलत क्रियाकलापको प्रतिवाद गर्न सबै नेपाली नागरिक सचेत हुनुपर्ने बताए। देशलाई सही बाटोमा अघि बढाउने जिम्मेवारी सबैको भए पनि त्यसका लागि एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

ओलीले मुलुकमा शान्ति स्थापना, लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। पछिल्लो निर्वाचनमा एमालेले व्यहोरेको पराजयबाट कार्यकर्ता निराश हुन नहुने भन्दै उनले हारपछि मैदान छाडेर भाग्ने प्रवृत्ति एमालेको नभएको स्पष्ट पारे।

‘कुस्तीमा एकपटक पछारिँदैमा अखडा छोडेर भागिँदैन, जुरुक्क उठेर फेरि सामना गर्नुपर्छ। नेकपा एमाले पनि त्यही गर्छ। यो भगौडा पार्टी होइन, परिस्थितिको सामना गर्ने, चुनौतीसँग जुध्ने र निरन्तर अगाडि बढ्ने पार्टी हो,’ ओलीले भने।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिँदै प्रत्येक वडा र क्षेत्रमा जित हासिल गर्ने लक्ष्यसहित संगठन विस्तार र सुदृढीकरण गर्न आग्रह गरे।

ओलीले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै गुटबन्दीका कारण विगतमा पटक–पटक पार्टीलाई क्षति पुगेको बताए। पार्टीको हितविपरीत अभिव्यक्ति दिने तथा अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।

संगठन सुदृढीकरणका क्रममा आवश्यकता अनुसार पार्टी कमिटी तथा जनसंगठनहरूको पुनर्गठन र पुनर्जागरण गरिने उनले बताए। तर पुनर्गठनको आवरणमा नेतृत्वविरुद्ध षड्यन्त्र गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी पनि उनले दिए।

अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिगमनविरुद्धको आन्दोलनको तयारी गर्न पनि निर्देशन दिए। देशलाई गलत दिशामा लैजान कसैलाई छुट दिन नहुने भन्दै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले सक्रिय हुनुपर्ने बताए।

उनले भने, ‘सबै बौरिनु जरुरी छ। गलत क्रियाकलापको प्रतिवाद गर्न जरुरी छ। यो देश हाम्रो देश हो, नेपालीहरूको देश हो। देशलाई गलत बाटोमा लैजान कसैलाई पनि छुट छैन। देशलाई सही बाटोमा अघि बढाउनुपर्छ, शान्ति र लोकतन्त्र फर्काउनुपर्छ, संविधानको रक्षा गर्नुपर्छ।’

ओलीले पार्टीको विधि र पद्धतिभन्दा बाहिरबाट गरिने कुनै पनि गतिविधि मान्य नहुने स्पष्ट पारे। नेतृत्वप्रति असन्तुष्टि भए वा अध्यक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस भए सम्बन्धित पार्टी कमिटीमा छलफल गर्नुपर्ने उनको भनाइ छ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यास रहेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउन खोज्नु पार्टीको पद्धति नभएको बताए। यस्तो प्रवृत्ति अनुशासनहीनता भएकाले पार्टीमा सह्य नहुने उनले चेतावनी दिए।

विवाह र सम्बन्धविच्छेदको उदाहरण दिँदै ओलीले कुनै सम्बन्ध वा जिम्मेवारीबाट अलग हुनसमेत निश्चित विधि र प्रक्रिया हुने बताए। पार्टीमा पनि कसैलाई कुनै कुरा मन नपरे छोड्ने वा परिवर्तन गर्ने अधिकार भए पनि त्यसका लागि निश्चित मर्यादा र प्रक्रिया पालना गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको विचार र सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक विषयलाई सार्वजनिक रूपमा बजारमा लगेर ‘तमासा’ देखाउनु र विरोधीलाई हँसाउने काम गर्नु उचित नभएको टिप्पणी गरे।

उनले पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई निर्धारित विधि र कमिटीमार्फत समाधान गर्न आग्रह गर्दै संगठनलाई एकताबद्ध र सुदृढ बनाएर आगामी राजनीतिक चुनौतीको सामना गर्नुपर्ने बताए।