काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व नागपञ्चमी आज देशभर परम्परागत रूपमा मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा घरका मूलढोकामाथि नागको तस्वीर टाँसी पूजा तथा आराधना गर्ने चलन छ।
धार्मिक मान्यताअनुसार नागको तस्वीर घरको मूलढोकामा टाँस्दा वर्षभर नाग, सर्प, बिच्छीलगायत जीवबाट हुने भयबाट जोगिनुका साथै आगलागी, मेघ र चट्याङको जोखिमबाट समेत सुरक्षा हुने विश्वास गरिन्छ। यस अवसरमा नागको तस्वीरमा दूध, दही, अक्षता, फूल र दुबो चढाई गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ।
नागपञ्चमीमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका अष्टकुलको पूजा गर्ने परम्परा छ। यी नागको तस्वीर घरमा टाँस्दा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ।
ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता मानिन्छन्। भूमिमा नाग देवताको बास हुने र जमिन खन्दा नागलाई कष्ट पुग्न सक्ने धार्मिक मान्यताका कारण नागपञ्चमीका दिन हलो जोत्ने, जमिन खन्ने वा जग राख्ने कार्य शुभ नमानिने चलन छ।
नागपञ्चमीका दिन नाग देवताका लागि व्रत बस्ने परम्परा पनि छ। दिनभर व्रत बसेर सूर्यास्तपछि खीर पकाई सर्वप्रथम नाग देवताको मूर्ति वा शिव मन्दिरमा अर्पण गर्ने र त्यसपछि प्रसादका रूपमा वितरण तथा ग्रहण गर्ने चलन रहेको छ।
धर्मशास्त्र तथा विभिन्न किंवदन्तीमा नागपञ्चमीसँग सम्बन्धित विभिन्न प्रसंग उल्लेख छन्। पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसंगसमेत धर्मशास्त्रमा पाइन्छ। नागको पूजा गरिने घरमा लक्ष्मीको वास हुने विश्वास पनि नेपाली समाजमा परम्परादेखि रहँदै आएको छ।
नागपञ्चमीका अवसरमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजा गरिन्छ। ती स्थानमा नाग देवतालाई दूध, अक्षता, दुबो, खीर, रोटीलगायत प्रसाद चढाएर श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ।
धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने नागपञ्चमीलाई वर्षायामको अन्त्यतर्फ प्रवेश गर्ने पर्वका रूपमा समेत कतिपय समुदायले मान्दै आएका छन्।