शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्थानीय तह निर्वाचनका लागि रास्वपाले ‘क्यान्डिडेट क्लब’ खोल्दै

आइतबार, साउन ३१ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । पार्टीले उम्मेदवार छनोटको आधारभूत प्रारूपअन्तर्गत ‘क्यान्डिडेट क्लब’ गठन गरी आवेदन खुला गर्ने तयारी गरेको हो ।

रास्वपाका महामन्त्री विपीन आचार्यका अनुसार उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र तथ्यमा आधारित बनाउन आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरिनेछ ।

के हो ‘क्यान्डिडेट क्लब’ ?

रास्वपाले अघि सारेको ‘क्यान्डिडेट क्लब’ उम्मेदवार छनोट प्रक्रियाको प्रारम्भिक चरण हो । उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम यही क्लबमा औपचारिक रूपमा आवेदन दर्ता गर्नुपर्ने व्यवस्था गरिनेछ ।

आवेदनसँगै आकांक्षीको व्यक्तिगत पृष्ठभूमि, विज्ञता, अनुभव तथा आधारभूत योग्यतासम्बन्धी विवरण संकलन र परीक्षण गरिनेछ । यसबाट सम्भावित उम्मेदवारको योग्यता र पृष्ठभूमिको व्यवस्थित तथ्यांक तयार पार्ने पार्टीको तयारी छ ।

‘क्यान्डिडेट क्लब’ लाई दुई तहमा विभाजन गरिएको छ ।

पालिका तहमा नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका आकांक्षीहरू समेटिनेछन् ।

त्यस्तै, वडा तहमा वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरूका लागि छुट्टै संरचना रहनेछ ।

रास्वपाले यही प्रारम्भिक प्रक्रियाबाट प्राप्त विवरण र योग्यताका आधारमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको थप प्रक्रिया अघि बढाउने जनाएको छ ।