काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट आन्दोलन विद्रोह र संघर्षमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले वामपन्थी आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कम्युनिस्ट आन्दोलनमा अधिकार र संघर्षका विषयले प्राथमिकता पाए पनि समाज परिवर्तनको मुख्य आधार मानिने अर्थराजनीतिक विषय भने उपेक्षित भएको उनको भनाइ छ। क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता रहे पनि व्यवहारमा सरकारमा पुगेपछि कम्युनिस्ट शक्तिको क्षयीकरण भएको उनले उल्लेख गरेका छन्।
कम्युनिस्ट नेतृत्वका सरकारले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरे पनि त्यसअनुसार जनसमर्थन बढ्न नसकेको पोखरेलले बताएका छन्। उनका अनुसार २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमत सरकार र २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारबाहेक अन्य कुनै पनि वामपन्थी सरकारले आफ्नो जनमत बढाउन सकेनन्।
आम निर्वाचन २०८२ मा सिंगो वामपन्थी आन्दोलनले व्यहोरेको असाधारण धक्काले नयाँ ढंगले चिन्तन र मनन गर्नुपर्ने अवस्था सिर्जना गरेको उनले बताएका छन्।
आधारभूत वर्ग र समुदाय नै कम्युनिस्ट पार्टीबाट टाढिँदै जानु तथा नेता–कार्यकर्तामा परिवर्तनको हुटहुटी शिथिल हुँदै जानुका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको पोखरेलको भनाइ छ।
समस्याबाट भाग्नुको साटो त्यसको सामना गर्दै अघि बढ्नुपर्ने मार्क्सवादी मान्यतालाई आत्मसात् गरेर कम्युनिस्ट आन्दोलनको पुनर्जागरणमा लाग्नुपर्नेमा उनले जोड दिएका छन्।