काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बादीतर्फ जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्र देखिएको गतिविधिप्रति असन्तुष्टि जनाएका हुन्।
ओलीले आफूले ‘उरन्ठेउला केटा’ भनेका व्यक्तिहरूका कारण देश बर्बादीतर्फ जान लागेको टिप्पणी गरे। उनले संविधान मिचिएको दाबी गर्दै संविधानलाई सही बाटोमा फर्काउनुपर्ने बताए।
‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू… अहिलेका माननीयमध्ये केही नाम सम्झिनुस् त, कस्ता छन् ?’ भन्दै ओलीले देश बर्बाद हुँदै गएको बताए।
उनले पछिल्लो समय पार्टीभित्र अनुशासनहीनता बढेको पनि बताए। पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु र हस्ताक्षर गर्दै हिँड्नु अराजकता भएको उनको भनाइ थियो।
पार्टी पुनर्गठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’को संज्ञा दिए। एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेताहरू ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएको चर्चा भइरहेका बेला ओलीले आफूले नेतृत्व नछाड्ने स्पष्ट पारे।
‘विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ। एकताबद्ध पार्टीले सामना गर्नुपर्ने बेलामा अध्यक्ष हटाउँछौँ भनिएको छ। यो केही हुनेवाला छैन,’ ओलीले भने।
उनले केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर अघि बढाउने दाबी गरे। पार्टीमा अराजकता र मनपरीतन्त्रलाई कुनै पनि हालतमा स्वीकार नगर्ने उनको चेतावनी थियो।
पार्टीको विरोध गर्दै हिँड्ने र सामाजिक सञ्जालमा जथाभावी लेख्ने गतिविधि स्वीकार्य नहुने ओलीले बताए। पार्टीमा बस्ने हो भने पार्टीको नीति, नियम, विधि र अनुशासन पालना गर्नुपर्ने उनको भनाइ थियो।
‘पार्टीमा काम गर्ने हो भने अनुशासन चाहिन्छ। कुनै संस्थामा काम गर्दा त्यस संस्थाको नीति, नियम, विधि र अनुशासन पालना गर्नुपर्छ,’ उनले भने।
विधि–विधानविपरीत गतिविधि गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिँदै ओलीले आफू अर्को महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने जिम्मेवारीका लागि कार्यकर्ताबाट अत्यधिक मतसहित निर्वाचित भएको पनि स्मरण गरे।