काठमाडौं । सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि र स्वार्थ हावी हुन नदिन आग्रह गरेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नाट्टालाई पर्यटन व्यवसायको विकास र व्यावसायिक हितमा केन्द्रित गर्नुपर्ने बताएका हुन्।
‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,’ उनले भने।
सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकले सुरुदेखि अन्तिमसम्म सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। हवाईजहाज, ट्याक्सी, होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा सुरक्षा सुनिश्चित गर्नुपर्ने भन्दै उनले पर्यटकलाई आकर्षित गर्न मानिसको व्यवहार, सेवा र सुविधाको गुणस्तरसमेत महत्वपूर्ण हुने बताए।
पर्यटन क्षेत्रका समस्या समाधानका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। उनले आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्न व्यवसायीलाई आग्रह गरे।
सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। हाल सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र उनीहरूलाई प्रवेश गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको सभामुख अर्यालले बताए। ‘नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,’ उनले भने।
विश्वका विभिन्न एयरलाइन्स कम्पनी नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै उनले व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए।
नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उनले बताए। त्यसका लागि पर्यटन व्यवसायीको सहयोग र सक्रिय भूमिका आवश्यक रहेको उनको भनाइ छ।
सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच पर्यटन सेवामा विभेद गर्न नहुनेमा पनि जोड दिए। होटल, हवाई टिकट तथा अन्य पर्यटन सेवामा समान व्यवहार हुनुपर्ने भन्दै उनले नेपाली पर्यटकप्रति विभेद गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई थप बलियो, व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्नेमा पनि सभामुख अर्यालले जोड दिए। नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेका बेला पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई सुदृढ बनाउनुपर्ने उनले बताए।
त्यस्तै, भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगका विषयमा गम्भीर बहस आवश्यक रहेको सभामुख अर्यालको भनाइ छ।
पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै उनले अब सरकार असफल हुने छुट नरहेको बताए। ‘मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,’ उनले भने।