शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कांग्रेस एकताका लागि ७ बुँदे प्रस्तावमा छलफल गर्न विश्वप्रकाश शर्माको आग्रह

शुक्रबार, साउन २९ २०८३

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको संस्थापनइतर पक्षका नेताहरूलाई जेठ १६ गते तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष प्रस्तुत गरिएको सातबुँदे प्रस्तावमाथि छलफल गर्न आग्रह गरेका छन्।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले उक्त प्रस्तावमा आवश्यक थपघट र संशोधनबारे छलफल गरी उपयुक्त निर्णय लिन आग्रह गरेका हुन्। पार्टीभित्र देखिएको मतभेद समाधानका लागि संवाद र सहमतिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु हुनुअघि शर्माले पार्टी एकताका लागि आफूले सानेपाबाट निरन्तर पहल गरिरहने बताएका छन्। कांग्रेसभित्रको विवादलाई संवादमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्।

सर्वोच्च अदालतले वैशाख ४ गते नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्र त्यसलाई कसैको जित वा हारका रूपमा नलिई समाधान खोज्ने प्रयास गरिएको शर्माले बताए।

फैसला आएको ४८ घण्टा नपुग्दै सभापति थापा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा पुगेर संवाद गरेको उनले स्मरण गरे। त्यसपछि पनि विभिन्न नेताहरूसँग पटक–पटक छलफल गरिएको र जेठ १६ गते पार्टी एकताका लागि सातबुँदे प्रस्ताव लिखित रूपमा नेताहरूसमक्ष पठाइएको उनले जानकारी दिए।

सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि संस्थापनइतर समूहको भेलाबाट अर्को दल बन्ने सम्भावना अन्त्य भएको शर्माले दाबी गरे।

उनले राष्ट्रिय भेला सकिएपछि पुनः संवाद अघि बढाउने बताए। ‘भेला सकिएपछि हामी संवाद गर्नेछौँ। भेला सकिँदासम्म हाम्रो बैठक चल्न सक्छ। हामी संवादका लागि खुला छौँ,’ उनले भने।

कांग्रेस सबैको साझा पार्टी भएकाले पार्टीभित्रका सबै पक्षले यही भावनालाई आत्मसात् गर्नुपर्ने शर्माको भनाइ छ। ‘यो पार्टी सबैको हो भन्ने कुरा अग्रज नेता र भेलामा आउने सबैले गहिरो आत्मसात् गर्नुहुन्छ भन्ने विश्वास गर्छौँ,’ उनले भने।

कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच विवाद चर्किरहेका बेला उपसभापति शर्माले सातबुँदे प्रस्तावलाई आधार बनाएर संवाद र सहमतिमार्फत पार्टी एकता कायम गर्नुपर्ने धारणा अघि सारेका हुन्।