कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। नेकपा संसदीय दलका नेता भट्टले नेकपा एमालेको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए। भट्टले तोकिएको समयभित्र दाबी पेस गरेपछि प्रदेश प्रमुखले उनलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री भट्टको शपथग्रहण कार्यक्रम शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले मन्त्रिमण्डल विस्तार गर्ने तयारीसमेत गरेका छन्। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा यसअघि नै सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछन्।
स्रोतका अनुसार एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालयको नेतृत्व पाउनेछ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने टुंगो लगाउने प्रक्रिया जारी रहेको बताइएको छ।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तापछि मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको थियो।
नेकपा र एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएसँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठन भएको छ।