काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा १८४ वटा एलपी ग्यास सिलिन्डर भेटिएपछि उद्योग मन्त्रालयले ग्यास लुकाएर राखिएको दाबी गरे पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यसलाई अस्वीकार गरेको छ ।
विभागका अनुसार होटलमा गरिएको अनुगमन नियमित प्रक्रिया हो र पाँचतारे होटलमा ठूलो मात्रामा ग्यास खपत हुने भएकाले १८४ वटा सिलिन्डर भेटिनु अस्वाभाविक होइन ।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार होटलमा ७० देखि ९० वटासम्म सिलिन्डर एकैपटक म्यानिफोल्ड प्रणालीमा जोडेर प्रयोग हुने गर्छन् । त्यसबाहेकका सिलिन्डर पनि नियमित खपतका लागि मौज्दातमा राखिने भएकाले त्यसलाई ग्यास लुकाएको भन्न नमिल्ने उनको भनाइ छ ।
विभागले गरेको अनुगमनमा होटलले ग्यास लुकाएको वा कालोबजारी गरेको प्रमाण फेला नपरेको जनाएको छ । यससँगै होटलमा ठूलो संख्यामा सिलिन्डर भेटिएकै आधारमा त्यसलाई ग्यास लुकाएको निष्कर्ष निकाल्नु गलत हुने देखिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार पाँचतारे होटलमा मासिक करिब ५०० देखि १ हजार सिलिन्डरसम्म ग्यास खपत हुने गरेको छ । यस्तो अवस्थामा १८४ सिलिन्डर मौज्दातमा हुनु होटलको नियमित खपत र आपूर्ति व्यवस्थापनकै हिस्सा हुनसक्ने विभागको भनाइ छ ।
होटलमा भेटिएको ग्यासलाई लिएर उद्योग मन्त्रालयबाट सार्वजनिक भएको दाबी र सम्बन्धित सरकारी विभागको निष्कर्ष भने आपसमा बाझिएका छन् । विभागले नै ग्यास लुकाइएको नदेखिएको स्पष्ट पारेपछि मन्त्रालयको दाबीमाथि प्रश्न उठेको छ ।