काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि राष्ट्रिय भेला आयोजना गर्दैछ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे भेलाको उद्घाटन हुने भएको छ।
भेलाको उद्घाटन नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्। देउवा बिहीबार मात्रै पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका हुन्। नेपाल फर्किएलगत्तै उनलाई काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालय लगिएको थियो।
चुनदेवीस्थित कार्यालयमा देउवाका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ। कोठाबाहिर ‘शेरबहादुर देउवा, सभापति’ लेखिएको बोर्ड राखिएको छ। देउवाले सोही कार्यालयमा बसेर पार्टीका विभिन्न नेतासँग छलफलसमेत गरेका छन्।
संस्थापन इतर पक्षले सातवटै प्रदेशमा भेला सम्पन्न गरेपछि राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत सहभागी हुनेछन्।
राष्ट्रिय भेला साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, आन्तरिक विवाद तथा विशेष महाधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ।
यसैबीच, विशेष महाधिवेशनको निर्णयविरुद्ध देउवा र नेता पूर्णबहादुर खड्काले दायर गरेको पुनरवलोकन निवेदनमाथि सर्वोच्च अदालतले हालै निस्सा प्रदान गरेको छ। सर्वोच्चले पुनरवलोकनका लागि अनुमति दिएसँगै कांग्रेसभित्रको विवाद पुनः सतहमा आएको छ।
विशेष महाधिवेशन, पार्टी नेतृत्व र आगामी राजनीतिक रणनीतिबारे कांग्रेसभित्र मतभेद चर्किरहेका बेला संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ।