रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन २७ गते साँझ परेको अविरल वर्षाका कारण गएको पहिरोले घर तथा गोठ पुरेको हो। पहिरोमा परी थबाङ–५ बोटलबाराकी अन्दाजी १८ वर्षीया शान्ती पुन मगर र सोही ठाउँका अन्दाजी ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना बुधबार राति भएको हो। घटनास्थलमा प्रहरी टोली पुगे पनि निरन्तर वर्षा र पहिरोका कारण तत्काल मृतकको शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
पहिरोमा परी सोही ठाउँका अन्दाजी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि बाहिर पठाइएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पहिरोले बोटलबारामा ६ वटा घर तथा गोठ पुरेको बताइएको छ। घटनामा थप मानिस घाइते भएको वा पहिरोमा पुरिएको हुनसक्ने आशंकामा प्रहरीले स्थानीयको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।