शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास, वर्षा र बाढीपहिरोको जोखिम

बिहिबार, साउन २८ २०८३

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। ती प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।