रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ।
मंगलबार दिउँसो नदीमा नुहाउने क्रममा एक बालक र दुई बालिका बेपत्ता भएका थिए। बेपत्तामध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्थानीयले नदीमा शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनामा बेपत्ता भएकी अर्की बालिकाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार फेला परेका दुवै शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।