शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मंगलबार, साउन २६ २०८३

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ।

मृतक मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच साेमबार भएको सहमतिअनुसार मेतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको छ।

सहमतिअनुसार साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाइनेछ।

त्यस्तै, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ।

सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने पनि सहमतिमा उल्लेख छ।

त्यसैगरी, मृतकको शव नेपाली सेनाको हेलिकप्टरमार्फत देवानगञ्ज गाउँपालिका–३, सुनसरी लैजाने व्यवस्था गरी दाहसंस्कार गर्ने सहमति भएको छ।

घटनामा मृत्यु भएका तीन जनाको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष बजेट विनियोजन गरी स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

सातबुँदे सहमतिपछि मृतक परिवारले उठाउँदै आएका माग सम्बोधन गर्ने तथा घटनासँग सम्बन्धित विषयमा छानबिन र कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।