काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
करिब ४५ मिनेट चलेको शिष्टाचार भेटमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने, विकास सहकार्यलाई प्रभावकारी बनाउने तथा साझा हितका विषयमा सहकार्य गर्नेबारे सकारात्मक र फलदायी छलफल भएको बताइएको छ।
भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थी उ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए ।
भेटपछि भारतीय दूतावास र प्रधानमन्त्रीको सचिवालयले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै पारस्परिक हित र सहकार्यका क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।