बागमती । हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटमा रहेको संस्कृत वेद विद्यालयको पुस्तकालयले प्राचीन महत्वका धर्मग्रन्थ सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ ।
विसं २०५६ मा विद्यालय स्थापना भएदेखि विद्यार्थीका लागि आवश्यक पुस्तक सङ्कलन गर्दै आएको पुस्तकालयलाई थप व्यवस्थित गरी प्राचीन धार्मिक ग्रन्थको संरक्षण र अध्ययनको केन्द्रका रूपमा विकास गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
हाल पुस्तकालयमा करिब २५० वटा पुस्तक मात्र सङ्कलन भएको उनले बताए । प्राचीन महत्वका धार्मिक पुस्तक तथा धर्मग्रन्थ घरमा सुरक्षित भएर थन्किएका भए पुस्तकालयलाई उपलब्ध गराउन उनले सबैमा आग्रह गरे ।
पुस्तकालय व्यवस्थित गर्न बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु दुई लाख सहयोग गरेको थियो ।
“हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन–अनुसन्धानको केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ,” अध्यक्ष थापाले भने, “कसैसँग घरमा त्यसै थन्किएर रहेका प्राचीन महत्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध छ ।”
पुस्तकालयमा उपलब्ध गराइएका प्राचीन पुस्तक विद्यार्थी, अध्येता तथा अनुसन्धाताका लागि उपयोगी हुने र वर्षौँसम्म सुरक्षित राख्न सकिने उनले बताए ।
देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक हाल उक्त विद्यालयमा अध्ययनरत छन् । विद्यालयले ४० जना बटुकलाई आवासीय सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।