काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्ता करिब ४५ मिनेट चलेको थियो । भेटमा दुवै देशका प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
प्रधानमन्त्री शाहले सरकार गठनपछि पहिलोपटक भारतीय राजदूतसँग व्यक्तिगत भेटवार्ता गरेका हुन् । यसअघि उनले काठमाडौंस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए ।
यसैबीच, प्रधानमन्त्री शाह र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच आजै भेटवार्ता हुने भएको छ । चिनियाँ राजदूतसँग दिउँसो ३ बजे भेटवार्ताको समय तय गरिएको छ ।
भारतीय र चिनियाँ राजदूतसँगको लगातार भेटवार्तालाई प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा आएको परिवर्तनका रूपमा समेत हेरिएको छ ।