काठमाडौं । छोटै समयमा सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो कूटनीतिक शैलीमा परिवर्तन गर्ने भएका छन् । सरकार गठनको सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने अडान लिएका प्रधानमन्त्री शाह अहिले भने परम्परागत कूटनीतिक अभ्यासतर्फ फर्किन लागेका छन् ।
यसैबीच प्रधानमन्त्री शाहले सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसको भोलिपल्ट अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग पनि भेटवार्ता गर्ने तयारी गरिएको छ ।
भारत र चीन नेपालका प्रत्यक्ष छिमेकी तथा नेपालमा महत्वपूर्ण लगानी गर्ने मुलुक हुन् । त्यस्तै, भौगोलिक रूपमा टाढा भए पनि आर्थिक, विकास र रणनीतिक साझेदारीका हिसाबले अमेरिका नेपालको महत्वपूर्ण मित्रराष्ट्र हो । त्यसैले प्रधानमन्त्री शाहले भारत, चीन र अमेरिकाका प्रतिनिधिसँग गर्न लागेकाे भेटवार्ताको यो शृंखलालाई सरकारको सुरुवाती ‘कडा अडान’बाट ‘व्यावहारिक कूटनीति’तर्फको परिवर्तनका रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले विदेशी राजदूतसँग व्यक्तिगत भेट नगर्ने नीति लिएका थिए । गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि बधाई तथा शुभकामना दिन विभिन्न मुलुकका राजदूतले भेटका लागि समय मागे पनि उनले छुट्टाछुट्टै भेट दिएनन् ।
त्यसको सट्टा प्रधानमन्त्री शाहले २५ चैतमा काठमाडौंस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए । उक्त अवसरमा उनले परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारे जानकारी गराएका थिए ।
सामूहिक भेटमा भारत, चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, फ्रान्स, कतार, दक्षिण कोरिया, बंगलादेशलगायत मुलुकका राजदूत तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधि सहभागी भएका थिए ।
त्यसपछि गत जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालका लागि युरोपेली संघ आबद्ध मुलुकका गैरआवासीय राजदूत तथा नियोग प्रमुखसँग पनि सामूहिक भेटवार्ता गरेका थिए ।
विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने आफ्नो नीतिको बचाउ गर्दै प्रधानमन्त्री शाहले विगतमा राष्ट्र तथा सरकार प्रमुखले विदेशी कूटनीतिज्ञलाई सहज रूपमा भेट दिँदा नेपालको राष्ट्रिय हित कमजोर भएको तर्क गर्दै आएका थिए । प्रधानमन्त्री बन्नुअघि पनि उनले विदेशी कूटनीतिज्ञसँगको भेटवार्ता तथा कूटनीतिक प्रोटोकलबारे यस्तै धारणा सार्वजनिक गरेका थिए ।
सोही नीतिअनुसार प्रधानमन्त्री शाहले अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर, दक्षिण–मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिको विशेष दूत सर्जियो गोर तथा नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्ससँगको भेटवार्तासमेत अस्वीकार गरेका थिए ।
भारतका विदेश सचिव विक्रम मिस्रीले समेत प्रधानमन्त्रीसँग भेटवार्ता हुन नसक्ने भएपछि आफ्नो नेपाल भ्रमण अन्तिम समयमा स्थगित गरेका थिए ।
तर, सरकार गठनको सय दिन पूरा हुँदै गर्दा प्रधानमन्त्री शाहले भारत, चीन र अमेरिकाका कूटनीतिक प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेकाे घटनाक्रमले उनको विदेश नीति र कूटनीतिक व्यवहारमा नयाँ अभ्यास सुरु हुन लागेको संकेत गरेको छ ।
यसलाई प्रधानमन्त्री शाहले सुरुवाती चरणमा अपनाएको ‘सामूहिक कूटनीति’बाट आवश्यकताअनुसार प्रत्यक्ष र संवादमुखी कूटनीतितर्फ अघि बढ्न खोजेको संकेतका रूपमा समेत हेरिएको छ ।