शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साउनको अन्तिम सोमबार बोलबम यात्राः सुन्दरीजलमा १० हजारभन्दा बढी भक्तजन

सोमबार, साउन २५ २०८३

काठमाडौं । साउनको अन्तिम सोमबार भगवान् पशुपतिनाथलाई जल चढाउन भक्तजन सुन्दरीजलमा भेला भएका छन् ।

सौरमासअनुसार साउन महिनाको प्रत्येक सोमबार सुन्दरीजलमा स्नान गरी शुद्ध वस्त्र धारण गरेर त्यहाँबाट जल बोकी पशुपतिनाथ मन्दिरसम्म पैदल यात्रा गर्ने परम्परा छ । सोही परम्पराअनुसार बोलबम यात्राका लागि भक्तजन आइतबार रातिदेखि नै सुन्दरीजल पुग्न थालेका हुन् ।

बोलबम काँवरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाको आयोजनामा भएको यात्रामा १० हजारभन्दा बढी भक्तजन सहभागी भएको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिए ।

भक्तजनले राति १२ बजेसम्म भजनकीर्तन गरेपछि स्नान गरी सुन्दरीजलबाट जल बोकेर खाली खुट्टा पशुपतिनाथसम्म यात्रा गर्नेछन् । उनीहरूले पशुपतिनाथ मन्दिरमा पुगेर आराध्यदेव भगवान् पशुपतिनाथलाई जल चढाउनेछन् ।

बोलबम यात्रीका लागि पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ढोकाबाट जल चढाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । भक्तजनलाई बासुकी हुँदै उत्तरढोकाबाट जल चढाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

साउनको अन्तिम सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको चापलाई मध्यनजर गर्दै बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरिने कोषले जनाएको छ ।