शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकार शासकीय अराजकतामा फसेको कांग्रेस सभापति थापाको आरोप

आइतबार, साउन २४ २०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन्।

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकार बरालिएको दाबी गरे। उनले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसको भएको बताए।

प्रधानमन्त्री शाहले आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ बताएको प्रसंग उल्लेख गर्दै सभापति थापाले सरकारलाई तीव्र गतिमा अघि बढ्ने छुट भए पनि संविधान र विधिको ‘लेन’ मिच्न नदिने चेतावनी दिए।

“प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभयो। स्पीडमा हिँड्ने उहाँको छनोटमा हाम्रो केही भन्नु छैन। स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर लेन मिच्न दिँदैनौँ,” उनले भने।

सभापति थापाले सरकार बरालिएको भन्दै त्यसलाई सही बाटोमा ल्याउने काम कांग्रेसको भएको बताए।

“सरकार बरालिएको छ, ठीक ठाउँमा ल्याउने काम कांग्रेसको हो,” उनले भने।

उनले प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा कांग्रेस सही बाटोमा अघि बढिरहेको दाबीसमेत गरे।