बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौंः रवि लामिछाने

आइतबार, साउन २४ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन्।

सरकारको कार्यशैली र स्थायित्वबारे टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका रूपमा नियन्त्रण गर्दै पुनः सही मार्गमा ल्याउने क्षमता रास्वपासँग रहेको बताएका हुन्।

उनले सरकार अहिले नै असफल नभएको र त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताए। सरकार सञ्चालनको प्रक्रियालाई हवाई यात्रासँग तुलना गर्दै उनले कहिलेकाहीँ आउने प्राविधिक समस्या वा बाह्य कारणका ‘टर्बुलेन्स’बाट नआत्तिन आम नागरिकलाई आग्रह गरे।

‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ,’ उनले भने।

लामिछानेले सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही मार्गमा ल्याएर यात्रालाई सहज बनाउने बताए। उनले भने, ‘यो यात्रामा कहिलेकाहीँ टर्बुलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ । तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन । त्यसैले–सिट ब्याक एन्ड रिल्याक्स।’

उनले सरकार असल नियत र सही दिशाका साथ अघि बढिरहेको दाबी गर्दै आम नागरिकलाई ढुक्क रहन आग्रह गरे। सरकारलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।