कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन गरिने उनले बताए ।
मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारका विषयमा प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा पुगिसकेको जानकारी दिनुभयो। उनले भने, “केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ।”
सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको भनाइ छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारी कामकारबाही भने नरोकिएको उनले स्पष्ट पारे।
नेकपा (एमाले)को समर्थनमा शाही यही साउन १२ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।