काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण र उनीहरूले भोग्दै आएका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम हिस्सा ओगट्ने उनीहरू विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत छन्। विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले बोल्छन् भने उनीहरूले करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन्।
आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट संस्कृति, परम्परा, ज्ञान र मानिस तथा प्रकृतिबीचको सम्बन्धमा आधारित जीवनपद्धतिको संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक हुने गरेका छन्।
आफ्नो पहिचान, परम्परागत जीवनपद्धति तथा पुख्र्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
आदिवासी जनजातिको अधिकार संरक्षण तथा उनीहरूको विशिष्ट संस्कृति र जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ। दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध संरक्षण गर्नुका साथै निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिइन्छ।
विश्व आदिवासी दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यानाकर्षण गराउँदै उनीहरूको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्ने अवसर प्रदान गर्दछ।
– तस्बिरः संयुक्त राष्ट्रसङ्घ