काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ ।
मधेस प्रदेश, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा बागमती प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।