शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ग्यास अभावबारे मौन, प्रधानमन्त्री शाहले सुनाए सरकारी संस्थान सुधारका ‘उपलब्धि’

शनिबार, साउन २३ २०८३

काठमाडौं । पछिल्ला दिनमा बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसकेको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने सरकारी उद्योग तथा संस्थान सुधारका प्रयासलाई आफ्नो सरकारको उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभामा सांसदहरूले सरकारको कामकारबाहीसँगै बजारमा देखिएको ग्यास अभावबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले शनिबार बिहान लामो फेसबुक स्टाटस लेख्दै वर्षौंदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दाबी गरेका हुन्।

सत्तारूढ दलकै सांसदहरूले समेत सरकारको कार्यसम्पादन र बजारमा देखिएका समस्याबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शाहले आफ्नो सरकार गठन भएदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन्।

‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?’ भन्ने चिन्ता र शंका स्वाभाविक रहेको उल्लेख गर्दै उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमानदार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने दाबी गरेका छन्।

प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसको परिणामस्वरूप केही संस्थानमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ।

औषधि लिमिटेड नाफामा गएको दाबी

प्रधानमन्त्री शाहले लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको दाबी गरेका छन्।

विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको भनाइ छ।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्। सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरेका छन्।

यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनको दाबी छ।

हेटौँडा कपडाको परीक्षण उत्पादन सुरु

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।

तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादन हुन थालेको उनको भनाइ छ। परीक्षण उत्पादन सफल भएपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।

नेपाल एयरलाइन्सको आम्दानी बढेको दाबी

प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दाबी गरेका छन्।

उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको उनले बताएका छन्।

यस्तै, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत सोही अवधिमा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको प्रधानमन्त्रीको दाबी छ।

डीडीसीको किसान बक्यौता घटेको दाबी

दुग्ध विकास संस्थान (डीडीसी)मा किसानलाई भुक्तानी गर्न बाँकी रकम घटेको पनि प्रधानमन्त्रीले बताएका छन्।

उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र ८ महिनाबाट घटाएर २ देखि ३ महिनामा झारिएको छ। यसअघि ७२ करोड रुपैयाँसम्म पुगेको भुक्तानी दायित्व अहिले ३५ करोड रुपैयाँमा झरेको उनको दाबी छ।

किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले बताएका छन्।

प्रधानमन्त्रीका अनुसार दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन अहिले ९० लाख रुपैयाँ पुगेको छ। विगतदेखि कर्मचारीलाई कानुनविपरीत वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको पनि उनले उल्लेख गरेका छन्।

डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ।

वैद्यखानाको कारोबार चार गुणा बढेको दाबी

सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

उनका अनुसार गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५० प्रकार पुर्‍याउने लक्ष्य राखिएको उनले बताएका छन्।

निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको पनि उनले उल्लेख गरेका छन्।

चालु आर्थिक वर्षमै पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने र जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको प्रधानमन्त्रीको भनाइ छ।

ग्यास अभावबारे भने प्रधानमन्त्री मौन

प्रधानमन्त्री शाहले सरकारी उद्योग तथा संस्थानमा सुधार भइरहेको दाबी गरे पनि पछिल्ला दिनमा बजारमा देखिएको एलपी ग्यास अभावबारे भने आफ्नो फेसबुक स्टाटसमा कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

खाना पकाउने ग्यासका लागि उपभोक्ताले कठिनाइ बेहोर्नुपरेको र बजारमा आपूर्ति सहज हुन नसकेको विषयमा प्रतिनिधिसभामा समेत प्रश्न उठेको थियो। तर, प्रधानमन्त्रीले त्यसको प्रत्यक्ष जवाफ दिनुको साटो सुधारका संकेत देखिएका सरकारी संस्थानको तथ्यांक प्रस्तुत गरेका छन्।

यसअघि शुक्रबार मध्यराति पनि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो प्रतिक्रिया दिँदै ‘ढिलो होला तर, गलत हुँदैन, नआत्तिनुहोस्’ भनेका थिए।

यसरी सांसदहरूले सरकारको कामकारबाही र बजारको समस्याबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको पछिल्लो वक्तव्य भने सरकारका काम र सरकारी संस्थानमा देखिएको सुधारलाई केन्द्रमा राखेर आएको छ।