राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेन्चुरीले जात र धर्मको बिषयमा बहुमत र अल्पमतको सिद्वान्तभन्दा माथि उठ्न जरुर रहेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले धर्मका नाममा समाजलाई विभाजन गर्ने बहसभन्दा गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्यायका विषयलाई केन्द्रमा राख्नुपर्ने धारणा राखिन्। धर्म र जातीय विभाजनले विश्वका धेरै देशले हिंसा र अस्थिरता भोगेको उल्लेख गर्दै नेपालमा संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, समानता र सहिष्णुताको भावना सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।
सांसद सेन्चुरीले सुनसरी, सिरहालगायत तराईका जिल्लामा भएका दुःखद घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै प्रभावित क्षेत्रमा पुगेर समन्वय गरेको गृहमन्त्री, प्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको सक्रियताको प्रशंसा गरिन्।
उनले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही किलि पेम्बा शेर्पा ९किलु० लगायत दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पर्वतारोहण क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रभावकारी सुरक्षा व्यवस्था, बीमा तथा उद्धार प्रणाली सुदृढ गर्न सरकारसँग आग्रह गरिन्।