काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। यसको प्रभावका कारण बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
हाल बागमती र कर्णाली प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ भने तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने बताइएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै हिमाली क्षेत्रमा वर्षा वा हिमपात तथा तराईका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले लगातारको वर्षाका कारण नदी–नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याई आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।