शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भूमि प्रशासनका फाराम सरलीकरण गरिने, सेवाग्राहीले आफैँ भर्न सक्ने व्यवस्था हुँदै

बिहिबार, साउन २१ २०८३

काठमाडौँ  । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग हुने सेवासम्बन्धी लिखित फारामलाई सरल र सहज बनाउने प्रक्रिया अघि बढाएको छ।

यसका लागि मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार समितिलाई हाल प्रयोगमा रहेका लिखित फारामहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र अरूको सहयोगबिनै आफैँ भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिइएको छ।

गठित समितिले फाराम सरलीकरणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्नेछ।

मन्त्रालयले भूमि प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीले फाराम भर्न अरूको सहयोग लिनुपर्ने बाध्यता हटाउने उद्देश्यले समिति गठन गरिएको जनाएको छ। समितिको प्रतिवेदन प्राप्त भएपछि सरलीकृत फाराम कार्यान्वयनमा ल्याइने मन्त्रालयले जानकारी दिएको छ।