काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने सम्भावित बाढी र पहिरोको जोखिमका कारण केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
सम्भावित बाढीको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म रातिको समयमा आवागमन बन्द रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
मकवानपुरस्थित कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसैबीच, इलाम नगरपालिका–९ राजदुवालीमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा सडक भासिँदा अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन्।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको कटानका कारण अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, मुगुको छायाँनाथ–रारा नगरपालिका–७ ताल्चा क्षेत्रमा नाग्म–गमगढी सडकखण्ड, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोर तथा पाल्पाको निस्दी गाउँपालिका–१ लितिपिरिङ क्षेत्रमा रहेको कालिगण्डकी करिडोर पनि पहिरोका कारण बन्द भएका छन्।
ललितपुरको बाग्मती गाउँपालिका–३ पाङदुरस्थित कान्तिलोकपथ, रुकुमपूर्वको भूमे गाउँपालिका–३ काँडाबजारस्थित मध्यपहाडी लोकमार्ग, म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा पर्ने बेनी–जोमसोम सडक तथा पर्वतको जलजला गाउँपालिका–७ केराबारीस्थित मालढुङ्गा–बेनी सडक पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।