चितवन। निर्माण सुरु भएको झण्डै सात वर्षपछि नारायणगढ–बुटवल सडकखण्डको यात्रा सहज बन्दै गएको छ। सडक विस्तारको काम अन्तिम चरणमा पुगेसँगै अहिले नारायणगढबाट बुटवल सामान्यतया करिब दुई घण्टामै पुग्न सकिने भएको छ।
कतिपय निजी सवारी चालकले त नारायणगढ–बुटवल यात्रा एक घण्टा ३० मिनेटदेखि दुई घण्टाभित्रै पूरा गर्न थालेका छन्। केही वर्षअघिसम्म यही सडकमा घण्टौँसम्म जाममा बस्नुपर्ने र कतिपय अवस्थामा रात नै सडकमा बिताउनुपर्ने अवस्था थियो।
रुपन्देहीका उद्योगी विमल कालाखेतीले गत साता बुटवलबाट नारायणगढको यात्रा एक घण्टा ३० मिनेटमै पूरा गरेको अनुभव सुनाए । उनका अनुसार अहिले सडक सहज र अधिकांश स्थानमा कुनै अवरोध छैन।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का उद्योगी प्रकाश आचार्य पनि नारायणगढबाट एक घण्टा ५० मिनेटमै घर पुगेको बताए। विगतमा यही सडकमा लामो जामका कारण निकै सास्ती खेप्नुपरेको स्मरण गर्दै उनले अहिले सडक फराकिलो र गुणस्तरीय बनेकाले यात्रा निकै सहज भएको बताए ।
त्यसैगरी, सञ्चारकर्मी प्रकाश ज्ञवाली बुधबार बुटवलबाट करिब दुई घण्टामा नारायणगढ आइपुगे। विगतमा भने यही सडक पार गर्न १२ घण्टाभन्दा बढी समय लागेको उनको अनुभव छ। दसैँका बेला परिवारसहित भरतपुरबाट रुपन्देहीको सैनामैना जाँदा १२ घण्टा सडकमा बिताउनुपरेको उनले स्मरण गरे ।
भरतपुरका एक कर्मचारीले पनि निजी सवारीमा नारायणगढबाट बुटवलको चौराहा चोकसम्म एक घण्टा ४४ मिनेटमा पुगेको बताए। बाटोमा दुई ठाउँमा रोकिएर शौचालय प्रयोग गर्दा पनि उक्त समयमा गन्तव्यमा पुग्न सकेको उनको भनाइ छ।
सडकको अवस्था खराब हुँदा बुटवल, पाल्पालगायत क्षेत्रबाट चितवन आउने यात्रुले पोखरा हुँदै यात्रा गर्नुपर्ने अवस्था थियो। कतिपयले कालीगण्डकी करिडोरको बाटो प्रयोग गर्थे भने केही यात्रु भैरहवाबाट हवाई मार्ग हुँदै काठमाडौँ भएर चितवन पुग्ने गर्थे।
चौतारी यातायात सेवा प्रालिका अध्यक्ष भुवन बरालका अनुसार विगतमा रातभर जाममा बस्नुपर्ने सडक अहिले यात्रु चढाउने–झार्ने क्रममा समेत करिब तीन घण्टामा पार गर्न सकिने भएको छ। पहिले सवारी साधन सञ्चालन गर्दा दैनिकजसो टुटफुट र मर्मत गर्नुपर्ने अवस्था रहे पनि अहिले त्यस्तो समस्या नरहेको उनले बताए ।
नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालका अनुसार सडक विस्तारको काम दुवै खण्डमा गरी करिब ९२ प्रतिशत सम्पन्न भइसकेको छ। अब सडक सुरक्षा तथा केही स्थानमा नाली जोड्ने काम मात्रै बाँकी रहेको उनले जानकारी दिए।
नारायणगढदेखि बुटवलसम्मको दूरी ११३.३५ किलोमिटर छ। आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको हो। ६५ किलोमिटर लामो नारायणगढ–दाउन्ने खण्डलाई पूर्वी खण्ड र ४९ किलोमिटर लामो दाउन्ने–बुटवल खण्डलाई पश्चिमी खण्डका रूपमा निर्माण गरिएको छ।
करिब १६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनामा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत सहुलियतपूर्ण ऋण र नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ। चिनियाँ सरकारी कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको यो आयोजना विसं २०७५ चैत ८ गतेदेखि सुरु भएको हो।
आयोजना सुरु गर्दा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न कारणले पटक–पटक म्याद थप हुँदै आएको छ।
नारायणगढ–बुटवल सडकलाई पुरानो दुई लेनबाट चार लेनमा विस्तार गरिएको छ। बजार तथा बाक्लो बस्ती भएका क्षेत्रमा भने सडकलाई छ लेनसम्म विस्तार गरिएको छ। विस्तारअन्तर्गत बजार क्षेत्रको करिब २८ किलोमिटर सडक छ लेन र बाँकी खण्ड चार लेनमा स्तरोन्नति गरिएको छ।