अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको लगानी विस्तार गर्ने उद्देश्यले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गरेका छन् ।
मंगलबार भएको छलफलमा उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न सरकार बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।
अर्थमन्त्री वाग्लेले न्यून ब्याजदर र पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग अपेक्षाअनुसार नबढ्नु तथा व्यवसायी लगानी विस्तारमा हिचकिचाउनु चिन्ताको विषय भएको उल्लेख गरे। उनले अर्थतन्त्रको सुधार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वका लागि सरकार, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
कानुनी तथा प्रक्रियागत सुधार आवश्यक परे सरकार निर्णय लिन पछि नहट्ने उल्लेख गर्दै उनले छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य मार्गचित्रमा रूपान्तरण गरिने विश्वास व्यक्त गरे ।